भक्तपुर, १ मंसिर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ्ग कलेजले शैक्षिक–सत्र २०७१/७२ सालमा भर्ना भएका नयाँ विद्यार्थीहरुको लागि सोमबार स्वागत एवं अभिमुखीकरण कार्यक्रम भयो। कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छें (रोहित) ले राजनीति भनेको देश र जनताको लागि सेवा गर्नु हो भन्नुभयो।
हरेक पार्टीका इञ्जिनियर, वैज्ञानिक, प्राध्यपाकहरुले नागरिकको भावनालाई बुझी काम गर्नुपर्ने, राजनैतिक चिन्तन–मनन गर्नुपर्ने चर्चा गर्दै उहाँले राजनीतिमा भाग नलिएमा खराब व्यक्तिहरुले हालीमुहाली चलाई देश र जनतालाई बबार्द पार्ने बताउनुभयो। कलेज सञ्चालक समिति अध्यक्ष एवं सभासद् प्रेम सुवालले संविधानमा निःशुल्क शिक्षा व्यवस्थाको लागि रहेको बताउँदै ख्वप विश्वविद्यालयको आवश्यकताबारे बताउनुभयो। कार्यक्रममा प्रा. डा. जगनाथ श्रेष्ठले धनभन्दा ज्ञान ठूलो हुन्छ भन्दै समाजको लागि सेवा गर्न दक्ष इञ्जिनियर बन्नुपर्छ भन्नुभयो। इञ्जिनियर शीतलबाबु रेग्मीले सृजनशील र सहकार्य गरी अध्ययन गरेमा दक्ष इञ्जिनियर बन्छ र लगनशील व्यक्तिले सफलता पाउँछ भन्नुभयो। सञ्चालक समितिका अध्यक्ष पे्रम सुवालको सभापतित्वमा भएको सो कार्यक्रममा ख्वप इञ्जिनियरिङ्ग कलेजका प्राचार्य इ. सुजन माक, उपप्राचार्य आ. रजनी श्रेष्ठ, ख्वप कलेज अफ इन्जिनियरिङ्गका उपप्राचार्य इ. सुनिल दुवाल, ख्वप इञ्जिनियरिङ्ग कलेजका विभागीय प्रमुखहरु इ. उमेश सुकमनी, आ. सम्पूर्ण महर्जन, इ. अमोद उलक, इ. गणेशराम धोजु, उप. प्रा. हरिप्रसाद ज्ञवाली, परीक्षा प्रमुख अर्जुनकुमार गैरे, प्रशासन प्रमुख सिद्धिराम सुवाल र पुस्तकालय प्रमुख जसतारा कोजुले पनि बोल्नुभयो।